८ वाम दलबीच पार्टी एकताको सहमति
News Desk
Nov-03 , 2025 तारिख 12:07 बेलुका

काठमाडौं – नेपालका आठ वामपन्थी दलहरूबीच पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनको एकीकरणको ऐतिहासिक सहमति भएको छ। पूँजीवादी जनवादी क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणमार्फत समाजवादमा रुपान्तरण गर्ने साझा लक्ष्यसहित एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको हो।

सो सहमति ने.क.पा. (माओवादी केन्द्र), ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, ने.क.पा. (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, ने.क.पा. (माओवादी समाजवादी) र ने.क.पा. (साम्यवादी) बीचमा भएको हो।

सहमति अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवादका रूपमा अघि बढाइनेछ। तत्कालीन कार्यनीतिमा गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादको आधार तयार पार्ने निर्णय गरिएको छ।

आन्दोलनको स्वरूप शान्तिपूर्ण रहनेछ र परिस्थिति अनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चामा आन्दोलन सञ्चालन गरिनेछ। एकता प्रक्रियाको पहिलो महत्वपूर्ण कदमका रूपमा २०८२ कार्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। सो सम्मेलनबाट पार्टी एकताको औपचारिक घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित गर्दै केन्द्रीय समिति गठन गरिने छ। आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनसमेत सम्पन्न गरिने निर्णय गरिएको छ।

सहमति अनुसार सहभागी सबै दलका केन्द्रीय समितिहरूलाई समायोजन गरी नयाँ केन्द्रीय समिति गठन गरिनेछ। पार्टीको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समितिमा आधारित हुनेछ। केन्द्रीय समिति र अन्य तहमा संयोजक र सह–संयोजक प्रणाली लागू गरिनेछ।

सबै तहका पार्टी समितिहरू, जनसंगठनहरू, इन्चार्ज तथा संयोजकहरू सहभागी घटकहरूबाट रहने व्यवस्था गरिनेछ। समितिहरूको सञ्चालन सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुनेछ। पार्टीका सबै दस्तावेज, राजनीतिक प्रतिवेदन र कार्यक्रम तयार गर्न विशेष कार्यदल गठन गरिनेछ।

संगठनात्मक एकता तथा समायोजनका लागि केन्द्रदेखि स्थानीय तहसम्म कार्यदल गठन गरिनेछ। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने र चुनाव चिन्ह पाँचकुने तारा तोकिएको छ।

वैचारिक तथा राजनीतिक मतभेदहरू निरन्तर छलफलमार्फत समाधान गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्‍याइने उल्लेख गरिएको छ।

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी, नेकपा (साम्यवादी) का अध्यक्ष प्रभाबहादुर सिंह र नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सुवासराज काफ्लेले हस्ताक्षर गरेका छन्।

सहमति मिति २०८२ कार्तिक १६ गते गरिएको हो। यो सहमतिलाई नेपालमा वाम शक्तिहरूबीचको एकता प्रक्रियाको ऐतिहासिक मोडको रूपमा लिइएको छ, जसले आगामी दिनमा देशमा स्थिरता र समाजवादी रुपान्तरणको बाटो प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको