“महाधिवेशन स्थगित हुँदैन, निर्धारित समयमै हुन्छ" देउवा
News Desk
Dec-03 , 2025 तारिख 12:03 बेलुका

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन समूहका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँगको भेटमा पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमै हुने भनेर पुनः स्पष्ट जवाफ दिएका छन। महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिमा अतिरिक्त प्रस्ताव दर्ता गरेपछि ती पदाधिकारीहरू देउवालाई भेट्न पुगेका थिए।

भेटमा देउवाले “महाधिवेशन स्थगित हुँदैन, निर्धारित समयमै हुन्छ” भन्ने आफ्नो अडान प्रस्ट पारेको स्रोतले जनाएको छ। उनका अनुसार अब कसले के भन्यो भन्ने प्रसंग समाप्त भइसकेको छ, कार्यतालिका सार्वजनिक भइसकेकाले महाधिवेशन पनि सोही अनुसार अघि बढ्नेछ। देउवाले संस्थापन पक्षका सात नेताहरूसँग सभापतिमा उठ्ने उम्मेदवारको नाम एकजनामा टुंज्ञ्ाउन आग्रह समेत गरेका छन।

छलफलका क्रममा पदाधिकारीहरूले महामन्त्री थापामाथि असन्तुष्टि व्यक्त गरेको स्रोतले बताएको छ। उनीहरूको भनाइमा, पार्टीका महामन्त्रीले महाधिवेशनका पक्षमा उभिनुपर्नेमा उल्टै विशेष महाधिवेशनको चर्चा गरेर अनावश्यक भ्रम सिर्जना गरिरहेको गुनासो सभापतिसमक्ष राखिएको थियो।

एक पदाधिकारीका अनुसार, “बैठकले तोकेको कार्यतालिका नै कार्यान्वयन गर्ने हो, महाधिवेशन तयारीमा लाग्ने हो, अब विशेष महाधिवेशनको कुरा उठाउनु उचित हुँदैन” भन्ने धारणा बैठकमा उठाइएको थियो।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसै बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनसमेत नहुने अवस्था आए स्वतः विशेष महाधिवेशन हुनुपर्ने सुझावसहित अतिरिक्त प्रस्ताव दर्ता गरेका थिए।

धेरै पढिएको