कांग्रेसद्वारा कारबाहीमा परेका नेता-कार्यकर्ताको अनुशासन फुकुवा
News Desk
Dec-28 , 2025 तारिख 02:03 बेलुका

काठमाडौँ | नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्न भई कारबाहीमा परेका नेता तथा कार्यकर्ताको अनुशासन फुकुवा गर्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरणसहित कारबाही मिनाहा गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्था र आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनलाई ध्यानमा राख्दै पार्टीलाई थप सुसंगठित बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख छ। पार्टीको बृहत् एकता मजबुत बनाउँदै संविधानको रक्षा र सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रको दिगो विकासमा योगदान पुर्‍याउने राष्ट्रिय दायित्वलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

विज्ञप्तिअनुसार विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक वा समर्थक बन्ने, अथवा असहयोग गर्नेहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन तथा विधानअनुसार स्वतः लागेको कारबाहीको बाँकी अवधि माफी गरिएको छ।

बैठकले विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका वा अन्य दलमा आबद्ध भई उम्मेदवार, प्रस्तावक वा प्रचारकको भूमिका निर्वाह गरेकाहरूलाई पनि कांग्रेसमा पुनः फर्कन आह्वान गरेको छ। पार्टीमा फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी दिने निर्णयसमेत गरिएको छ।

यसैगरी लोकतान्त्रिक विचार र आस्थामा विश्वास राख्ने, विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा रही राष्ट्र तथा जनताको सेवामा सक्रिय व्यक्तिलाई कांग्रेसमा योगदान गर्न आह्वान गरिएको छ। वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र देशको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० जना उम्मेदवार चयन गर्ने मापदण्ड तय गर्दै नाम छनोट प्रक्रिया सुरु गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने जनाइएको छ।

धेरै पढिएको