News Desk
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार १८ जना राष्ट्रिय सभा सदस्यका लागि देशभरबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मनोनयन प्रक्रियाअन्तर्गत कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। कोशी प्रदेशको खुला कोटामा अन्य कुनै पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध भएका हुन्। थापाले केही दिनअघि मात्र राष्ट्रपतिको सल्लाहकार पदबाट राजीनामा दिएका थिए।
कोशी प्रदेशमै कांग्रेस–एमाले गठबन्धनबाट एमालेका सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट खेमराज सुन्दास र नमिता न्यौपानेले पनि मनोनयन दर्ता गरेका छन्।
मधेश प्रदेशमा ४ सिटका लागि ११ जनाको उम्मेदवारी परेको छ। कांग्रेस–एमाले गठबन्धनको तर्फबाट लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। जसपा नेपालबाट शैलेश चौधरी, चन्द्रकला देवी साह र चमेली देवी दास उम्मेदवार बनेका छन्। नेकपाबाट शम्भु पासवान, रामनन्दन प्रसाद, लक्ष्मण पौडेल र समी कुमारी अग्रवालले मनोनयन दर्ता गराएका छन्। गठबन्धनकै तर्फबाट दलित कोटामा कांग्रेसका धर्मेन्द्र पासवान, अल्पसंख्यक कोटामा रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दिएका छन्।
बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछेँ उम्मेदवार बनेका छन् भने कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगालले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराएकी छन् भने नेकपाका प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झाले पनि उम्मेदवारी दिएका छन्।
गण्डकी प्रदेशमा दुई सिटका लागि ६ जनाको मनोनयन परेको छ। महिलातर्फ एमालेकी सम्झना देवकोटा र अन्य समूहबाट कांग्रेसका जगत तिमल्सिनाले उम्मेदवारी दिएका छन्। नेकपाबाट कपिल लामा र गोमा घिमिरे लुइँटेल उम्मेदवार बनेका छन् भने राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकर बरालको उम्मेदवारी परेको छ।
तीन सदस्य निर्वाचित हुने लुम्बिनी प्रदेशमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ। कांग्रेस–एमाले गठबन्धनबाट अन्यतर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गता कोटाबाट बासुदेव घिमिरे जंगलीले उम्मेदवारी दिएका छन्। नेकपाबाट अन्य कोटामा बृहस्पति अधिकारी, महिलातर्फ दुर्गा भण्डारी र अपाङ्गता कोटामा सर्जन विक उम्मेदवार बनेका छन्। राष्ट्रिय जनमोर्चाबाट महिलातर्फ पद्यमा पण्डित र अन्यतर्फ बोमबहादुर खत्रीले मनोनयन दर्ता गराएका छन्।
कर्णाली प्रदेशमा एमालेका मिनासिंह रखाल र नेपाली कांग्रेसका ललितजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै नेकपाबाट महिलातर्फ अञ्जु महतरा र अन्यतर्फ बुद्धिप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्बबहादुर खाती र नेकपा एमालेका लिला भण्डारी उम्मेदवार बनेका छन्। नेकपाबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् र सोही दिन दिउँसो अन्तिम नामावली सार्वजनिक गरिनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ।