News Desk
चितवन । चितवन क्षेत्र नम्बर ३ मा वर्षौंदेखि दोहोरिँदै आएको असफल राजनीति विरुद्ध समीर केसीले खुला चुनौती दिएका छन् । फागुन २१ लाई लक्षित गर्दै सार्वजनिक गरिएको उनको विकास एजेन्डाले पुराना दल, थाकेका अनुहार र खोक्रा प्रतिबद्धतालाई सिधै प्रश्नको घेरामा राखेका छन ।
उज्यालो नेपाल चितवनका अध्यक्ष तथा अन्तर्राष्ट्रिय चितवन समाजका पूर्व अध्यक्ष केसी कतारमा लामो समय बस्दा पनि सत्ताको वरिपरि होइन, जनताको पीडासँग उभिए । विदेशमा पसिना बगाउने नेपालीका समस्या नजिकबाट देखेका उनी अब “विदेशले पाल्ने देश होइन, देशले रोजगारी दिने प्रणाली” बनाउने संकल्पसहित मैदानमा उत्रिएका छन् ।
केसीको आक्रामक एजेन्डाले चितवन–३ का आधारभूत समस्या सिधै औंल्याएको छ । भत्केका सडक, अनियमित खानेपानी, अव्यवस्थित सिँचाइ र बिचौलियाको चंगुलमा परेका किसान—यी सबै असफल नेतृत्वका परिणाम भएको उनको ठोकुवा छ । “हामी योजना बनाउने होइन, लागू गर्ने पुस्ता हौं,” केसीको स्पष्ट चेतावनी छ ।
शिक्षा र स्वास्थ्यमा राजनीति होइन, सेवा चाहिन्छ भन्ने उनको अडान छ । विद्यालय र स्वास्थ्यचौकीमा जनशक्ति अभाव, युवाको बेरोजगारी र बाध्यकारी वैदेशिक पलायनलाई उनले राज्यको लज्जास्पद असफलता भनेका छन् । “युवा विदेश धपाएर राष्ट्र बन्दैन । अब यो क्रम रोक्नुपर्छ,” केसीको आक्रामक सन्देश रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको नाममा स्थानीय पीडामाथि आँखा चिम्लिएको आरोप लगाउँदै उनले वन्यजन्तु–मानव द्वन्द्व, बाढी र क्षतिपूर्तिको विषयलाई चुनावी भाषण होइन, पहिलो प्राथमिकतामा राख्ने केसिले बताएका छन् । सामुदायिक पर्यटनमार्फत लाभ नपाएका स्थानीयलाई प्रत्यक्ष आर्थिक हिस्सेदार बनाउने उनको घोषणा छ ।
साना तथा मझौला उद्योग, युवा उद्यमिता र आधुनिक कृषि प्रविधिबिना समृद्धि सम्भव छैन भन्दै केसीले “अनुदान कागजमा होइन, खेत र उद्योगमा देखिनुपर्छ” भन्ने धारणा राखेका छन् । भ्रष्टाचार, दलाल र पहुँचवालाको राजनीति अन्त्य नगरी विकास सम्भव छैन भन्ने उनको ठोकुवा छ ।
समीर केसी भन्छन्— “यदि मलाई टिकट दिइयो भने, म चुनाव जित्छु । यदि चुनाव जितेँ भने, म भाग्दिन । संसदभित्र चितवन–३ का जनताको आवाज चर्को बनाएर बोल्छु । र यदि काम गर्न दिइएन भने, म चुप लागेर बस्दिन ।”
विश्वभर छरिएका नेपालीका समस्यालाई राज्यको प्राथमिकतामा नल्याउने नेतृत्व असफल भएको टिप्पणी गर्दै उनले प्रवासी नेपालीको अधिकार, लगानी र सुरक्षाका लागि संसददेखि सरकारसम्म दबाब सिर्जना गर्ने घोषणा गरेका छन् ।
चितवन–३ मा अहिले एउटा प्रश्न गुञ्जिरहेको छ—
“फेरि पुरानैलाई मौका दिने कि, परिणाम दिने नेतृत्व छान्ने?”
यो प्रश्नको केन्द्रमा अब समीर केसी उभिएका छन् ।
