News Desk
काठमाडौँ l नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूले आगामी निर्वाचनमा पार्टीले अरू दलसँग गठबन्धन नगरी आफ्नै बलमा चुनावी मैदानमा उत्रिनुपर्ने धारणा व्यक्त गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बोल्ने अधिकांश वक्ताहरूले कांग्रेसभित्र आत्मसमीक्षा, एकता र संगठन सुदृढीकरणमार्फत बहुमत हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता प्रकाश स्नेही रसाइलीले कांग्रेसलाई नातावाद र व्यक्तिवादबाट टाढा राख्न सकिए आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउन सक्ने दाबी गरे। उनले कांग्रेसले आगामी चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने धारणा राखे।
यसैगरी नेता बजरङ्ग नेपालीले आत्मसमीक्षा, आत्मसम्मान र पार्टीको पुनर्जागरणका लागि आफू विशेष महाधिवेशनमा सहभागी भएको बताए। उनले नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतन्त्रको रक्षा र स्थापना गर्ने अग्रणी शक्ति भएको उल्लेख गर्दै पार्टीको गौरवशाली योगदान स्मरण गराए।
उनले भने, “कांग्रेस राणाशासनविरुद्ध संघर्ष गरेको पार्टी हो। लोकतन्त्र स्थापना गर्दै राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक व्यवस्थाको जग बसाल्ने काम कांग्रेसले नै गरेको हो।” साथै उनले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरबहादुर पुनले नयाँ पुस्ता अर्थात् ‘जेन जी’को चाहना र अपेक्षा बुझ्न तथा पार्टीलाई विधिसम्मत र पारदर्शी रूपमा अघि बढाउन विशेष महाधिवेशन आवश्यक भएको बताए।
त्यस्तै नेता ओमकार श्रेष्ठले कांग्रेस फेरि जागेको उल्लेख गर्दै आगामी निर्वाचनमा बहुमत हासिल गर्ने लक्ष्यका साथ सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। “कसैलाई निषेध होइन, सबैलाई समावेश गर्दै पार्टीलाई बलियो बनाउनु आजको आवश्यकता हो,” उनले भने।
अर्का नेता सुरेन्द्र चौधरीले कांग्रेसलाई नयाँ युगको चेतनासँग जोड्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।