News Desk
काठमाडौँ | नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेको विशेष महाधिवेशनको बन्दसत्र मङ्गलवारसम्म सञ्चालन हुने भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल जारी रहँदा बन्दसत्र थप लम्बिएको हो।
बन्दसत्रमा सभापति शेरबहादुर देउवाले वार्ताका लागि समय मागेपछि कार्यक्रमको अवधि थपिएको आयोजक पक्षले जनाएको छ। विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलवारको बन्दसत्रमा पार्टी नेतृत्व, नीति तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय लिने तयारी छ।
आजको बन्दसत्रमा सातै प्रदेश, उपत्यका तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधिहरूलाई समेटेर नौ वटा छुट्टाछुट्टै समूह बनाएर गहन छलफल भइरहेको छ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीभित्र विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरिनेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गते भृकुटीमण्डपमा आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र मङ्गलवार पनि निरन्तर रहने जनाइएको छ। यता, संस्थापन पक्षका नेताहरूले भने काठमाडौंमा जारी विशेष महाधिवेशन पार्टी विधानविपरीत रहेको निष्कर्ष निकालेका छन्।
सोमबार सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई असंवैधानिक ठहर गरेका हुन्। यद्यपि संस्थापनको विरोधका बाबजुद महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा विशेष महाधिवेशन जारी छ, जसले पार्टीको नीति र नेतृत्वमा परिवर्तन ल्याउने दाबी गरिएको छ।
नेतृत्वको विषयलाई लिएर रस्साकस्सी चर्किंदै जाँदा विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि चार सदस्यीय समिति गठन गरेका छन्। वार्ता समितिमा प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसे रहेका छन्। संस्थापन पक्षले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई वार्ताको जिम्मेवारी दिएको छ।