नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, प्रधानमन्त्री उम्मेदवार घोषणा प्रस्ताव पेश हुने
News Desk
Jan-23 तारिख 12:48 बेलुका

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक आयोजना गरिएको कांग्रेस सचिव प्रकाश शर्माले जानकारी दिए।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पहिलो पटक सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित हुन लागेका हुन्। उपसभापति पुष्पा भुसालका अनुसार सभापति गगनकुमार थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि बैठक सुरु हुनेछ।

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, निर्वाचन अभियान सञ्चालनका लागि आवश्यक समिति गठन तथा समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने बताइएको छ।

यसैबीच, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। पूर्वसभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनपछि उनलाई मुख्य सचिवमा नियुक्त गरेका थिए।

राष्ट्रिय सभा सदस्यसमेत रहेका पौडेलले बिहीबार मुख्य सचिव पदबाट राजीनामा दिए पनि कांग्रेस पार्टीभित्र आफ्नो राजनीतिक सक्रियता निरन्तर रहने स्पष्ट पारेका छन्।

धेरै पढिएको