डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता, संसदभन्दा बाहिर रहेर राजनीतिक खबरदारी गर्ने घोषणा
News Desk
Jan-24 तारिख 12:25 बिहान

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। आज आफ्ना नजिकका केही नेताहरूसँग छलफल गरेपछि उनले उक्त निर्णय लिएका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा भट्टराईले देशको अवस्था अझै संक्रमणकालीन रहेकाले प्रतिनिधिसभामा सीमित भएर बस्नुभन्दा जनतामाझ रहेर खबरदारी गर्ने, राजनीतिक दलहरूलाई आवश्यक सल्लाह–सुझाव दिने र देशलाई अग्रमनतर्फ लैजान भूमिका निर्वाह गर्ने बताएका छन्।

राज्यका अङ्गहरू अत्यन्त कमजोर अवस्थामा रहेको उल्लेख गर्दै उनले भदौ २४ को घटनाले त्यसको पुष्टि गरेको बताए। सुधारका धेरै काम बाँकी रहेकाले तीव्र आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्नु अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ छ। यही सन्दर्भमा एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र भएर बस्नुभन्दा बाहिर रहेर दलहरूलाई सहयोग गर्नु र आवश्यक पर्दा राष्ट्रकै व्यापक हितका लागि भूमिका खेल्नु उपयुक्त ठानेर उम्मेदवारी फिर्ता लिएको उनले स्पष्ट पारे।

भट्टराईले जेनजी विद्रोहपछि राज्य र जेनजी समूहबीच भएको सम्झौताको कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले निःस्वार्थ र निशर्त रूपमा आवश्यक भूमिका निर्वाह गर्ने बताए। साथै, आफूले हुर्काउँदै आएको तत्कालीन नयाँ शक्ति पार्टी (हाल प्रगतिशील लोकतान्त्रिक पार्टी)सँगै रास्वपा, उज्यालो नेपाल पार्टीजस्ता नयाँ दलहरू तथा पुराना दलभित्रका अग्रगामी सोच भएका नेताहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका भट्टराई यसअघि गोरखा–२ बाट निर्वाचित भइसकेका नेता हुन्। २०७९ सालको निर्वाचनमा भने उनले प्रचण्डलाई सहयोग गरेका थिए।

धेरै पढिएको