रास्वपाको प्रथम महाधिवेशन आजदेखि, १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव
News Desk
Jun-21 तारिख 06:55 बिहान • आज

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

शनिबार साँझ भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र प्रभावकारी बनाउन आवश्यक व्यवस्थापनका अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको र आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको प्रवक्ता झाले बताउनुभयो। उहाँका अनुसार पार्टीले महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो।

महाधिवेशनमा राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनेछ। शनिबार बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका विभिन्न प्रस्ताव पारित गरेको छ। तीमध्ये हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव प्रमुख रहेको छ।

विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाउने व्यवस्था गरिएको छ। साथै पार्टीका पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने गरी विधान परिमार्जन गरिएको छ।

संशोधित प्रस्तावअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

यस्तै, १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ जना सदस्य पार्टी सभापतिले समावेशिताका आधारमा मनोनयन गर्ने प्रस्ताव पनि विधानमा समेटिएको छ। बाँकी ९९ जना सदस्य भने खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्माण तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ। महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने बताइएको छ।

रास्वपाले हाल पाँच लाख सदस्य संख्या पुगेको दाबी गरेको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक अधिवेशन गरिएको छ। छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि चयन भइसकेका छन् भने मधेश प्रदेश र अधिवेशन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

तीन हजार ९१८ प्रतिनिधि सहभागी रहने महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

धेरै पढिएको