रास्वपाको बन्दसत्र आज
News Desk
Jun-23 तारिख 07:15 बिहान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि निर्धारित बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण तथा विवरण प्रमाणीकरण कार्य पूरा नभएकाले मङ्गलबारका लागि सारिएको छ।

पार्टीका अनुसार प्रतिनिधिहरूको विवरण रुजु, आधिकारिक नामावली प्रमाणीकरण तथा परिचयपत्र छपाइको प्रक्रिया अपेक्षाभन्दा लामो भएपछि निर्धारित समयमै बन्दसत्र सञ्चालन गर्न नसकिएको हो।

भरतपुरस्थित महाधिवेशन स्थलमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीष झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र स्थगनको कारणबारे जानकारी दिएका थिए।

उनीहरूले देशभरबाट आएका प्रतिनिधिहरूको विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा परिचयपत्र वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन थप समय आवश्यक परेकाले कार्यक्रम सार्नुपरेको बताएका छन्।

प्रवक्ता झाले महाधिवेशन पार्टीको सर्वोच्च नीति तथा निर्णय निर्माण गर्ने मञ्च भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले विशेष सतर्कता अपनाइएको बताए। उनका अनुसार प्रतिनिधिहरूको विवरण रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको छ र प्रक्रिया सम्पन्न भएपछि मात्र बन्दसत्र सञ्चालन गरिनेछ।

रास्वपाले प्रतिनिधिसम्बन्धी सम्पूर्ण प्रक्रिया आज दिउँसोसम्म टुङ्ग्याएर बन्दसत्र सुरु गर्ने तयारी रहेको जनाएको छ।

निर्वाचन आयोगका प्रमुख केसीले निर्वाचनसम्बन्धी प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको जानकारी दिँदै प्रतिनिधि व्यवस्थापनको कार्य सम्पन्न हुनेबित्तिकै निर्वाचन प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई संगठन सुदृढीकरण, संस्थागत विकास तथा भावी राजनीतिक दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा, संगठन विस्तार रणनीति र विधान संशोधनलगायतका विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

यसबीच बन्दसत्र स्थगित हुँदा प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति पार्टीले क्षमायाचना गरेको छ। केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचनामा आवश्यक प्रक्रिया पूरा गर्न थप समय लागेकाले कार्यक्रम सार्नुपरेको उल्लेख गर्दै सबै पक्षको धैर्य, संयमता र सहयोगप्रति आभार व्यक्त गरिएको छ।

धेरै पढिएको