News Desk
भारत र रूसबीच नयाँ दिल्लीमा सम्पन्न उच्च-स्तरीय द्विपक्षीय बैठकले दुई देशको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको छ। भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा विस्तृत छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। बैठकमा उर्जा, प्रतिरक्षा, व्यापार, आणविक प्रविधि, अन्तरिक्ष तथा पारवहन पूर्वाधारजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको स्रोतहरूले बताएका छन्। विशेषगरी, ऊर्जा सुरक्षाका क्षेत्रमा लामो समयदेखि चलिरहेको सहकार्यलाई अझ मजबुत बनाउन नयाँ परियोजनाहरू अघि बढाइने भएको छ। साथै, सैन्य प्राविधिक सहयोग, संयुक्त उत्पादन तथा आदान प्रदानलाई थप दिगो बनाउने विषयमा दुवै पक्षबीच ठोस छलफल भएको छ।
भारतीय आतिथ्यमा आयोजित वार्तामा दुई मुलुकले बहुध्रुवीय विश्व व्यवस्थामा पारस्परिक हितका सवालमा नजिक भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। व्यापारिक कारोबार अझ वृद्धि गर्ने उद्देश्यले केही प्रमुख सम्झौतामा हस्ताक्षर भएको र दुबै देशले लगानी प्रवाह सहज बनाउन नयाँ संयन्त्र विकास गर्ने निर्णयसमेत गरेका छन्। यसअघि नै बलियो रहेको भारत-रूस सम्बन्धलाई पुटिनको यो भ्रमणले रणनीतिक रूपमा थप सक्रियता दिएको विश्लेषकहरूको राय छ।