Devil Singh Rajput
काठमाडौँ — शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीबाट मजदुर दिवसको शुभकामना आयो जसको अन्ततिर सञ्चारमाध्ययम प्रति उनको रोष पनि झल्किएको देखिन्छ ।
विषम परिस्थितिका कारण उत्पादनको कडी टुट्न जानाले श्रमिकहरुको रोजगारी गुमेको र त्यसलाई रोक्न सरकारले सक्दो प्रयासहरु गर्ने उल्लेख गर्दागर्दै सन्देशमा उनले भनेका छन्, ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ ।’
प्रधानमन्त्रीका पछिल्ला वक्तव्यहरुले उनी प्रेसको भूमिकाप्रति चरम असन्तुष्ट छन् भन्ने संकेत गर्छ । मिडियाप्रति उनको असन्तुष्टि कतिसम्म बढेको छ भने पछिल्ला मन्त्रिपरिषदको बैठकमा समेत उनले मिडियाको आलोचना गरे र हालै आफ्ना मन्त्रीहरुलाई निर्देशन दिए, ‘प्रेसबाट टाढै बस्नु ।’
नयाँ वर्षको सन्देश दिनेक्रममा पनि प्रेसप्रति उनको आक्रोश उसैगरी प्रकट भएको थियो । सिडिओ र डिएसपीले थाहा नपाइकन पत्रकारकोमा सूचना पहिले पुगेकामा उनले आपत्ति नै प्रकट गरेका थिए । र, यसलाई रहस्यपूर्ण बताएका थिए ।
जानकारहरु प्रधानमन्त्री ओलीका यी अभिव्यक्तीलाई आलोचना सहन नसक्ने उनको प्रवृत्तिका रुपमा व्याख्या गर्छन् । ‘ह्वाइट हाउसमा जसरी डोनाल्ड ट्रम्पले मिडियालाई गाली गरिरहेका छन् त्यसरी नै हाम्रा प्रधानमन्त्रीले पनि नेपालको सञ्चारलाई हेरिरहनु भएको छ,’ पूर्व राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार राजेन्द्र दाहाल भन्छन्, ‘उहाँका शुभचिन्तकले प्रधानमन्त्रीलाई प्रसको बेसिक नेचरका बारेमा अवगत गराइदिए हुन्थ्यो ।’
दाहालको अनुभवमा सत्तामा पुगेपछि राजनीतिज्ञहरुले मिडियाको आलोचनालाई असहज मान्ने गर्नु नौलो नभए पनि अहिलेका प्रधानमन्त्री भने प्रेसप्रति अलि बढी नै क्रुद्ध देखिएका छन् । ‘पञ्चायदेखि अहिलेसम्मका प्रधानमन्त्रीहरुमा मिडियाप्रति खरो बोल्नेहरु थिए तर यो तहमा आक्रोश पोख्नेहरु चाहिँ कोही थिएनन्,’ दाहाल भन्छन्, ‘वास्तवमा ओली प्रेसप्रति मात्रै नभएर राज्यभन्दा बाहिरको प्राणालीसँग पुरै आक्रोशित छन् ।’
सरकार गठन भएलगत्तै ओलीले आफ्ना कामको प्रतिरक्षा गर्न सिंगो पार्टी पंक्ति र कार्यकर्तालाई अरिंगालजसरी खनिनु भनेर आदेश गरेका थिए । त्यसलगत्तै सामाजिक सञ्जालहरुमा छद्म नामहरुमार्फत् सरकारका अनियमित कामहरुका बारेमा लेख्नेको खोइरो खन्ने क्रम सुरु भयो ।
अरिंगाल पंक्तिलाई अझै जगाउने अभिप्रयायले ओलीले शुक्रबारको सन्देशमा पनि ‘सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनता’लाई आफ्ना आलोचकविरुद्ध उत्रिन घुमाउरो पाराले आग्रह गरेका छन् ।
ओलीको यो शैली उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याललाई पनि मन परेको छैन । ‘मिडिया कहिले पनि स्थायी शत्रु हुँदैन, यो बुझ्ने मामिलामा हामीकहाँ समस्या नै रह्यो,’ उनी भन्छन्, ‘मिडियाले लेखेका विषयमाथि धेरै गनगन र गुनासो गर्नुभन्दा उनीहरुको प्रवृत्ति साँच्चीकै खराब हो कि होइन भनेर नीति अनुसन्धान परिषद, प्रेस काउन्सिल वा अरु कुनै मर्यादित संस्थामार्फत् अध्ययन अनुसन्धान गराएर निकालेको तथ्याङ्कहरु बाहिर ल्याउनु पर्छ सरकारले ।’
व्यवसायिक पत्रकारितामा आलोचनात्मक धार रहन्छ भन्ने तथ्यलाई मनन गर्दा धेरै आक्रोशहरु स्वतः साम्य भएर जाने ठान्छन् उनी ।
यसको उल्टो, मूलधारका मिडियाहरु आफूविरुद्ध खनिएको र पूर्वाग्रहपूर्ण धारणाहरु बाहिर ल्याउने गरेको ठानेर प्रधानमन्त्रीले आफू निकटको एक संचारमाध्यमलाई मुखपत्रका रुपमा प्रयोग गर्न थालेका छन् । सुरुमा प्रधानमन्त्रीले हप्तैपिच्छे नेपाल टेलिभिजनमा आफूले नियुक्त गरेको मान्छेबाट अन्तर्वार्ता लिन लगाएर तथा प्रायोजित छलफल चलाएर सरकारी स्वामित्वको सञ्चार गृहलाई उपयोग गरे । अहिले उनले नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा संवोधन प्रवाहित गर्ने गरेका छन् ।
ओलीकै शैली पच्छ्याउँदै मिडियाको खुलेरै आलोचना गर्ने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई उनी खुबै मन पराउँथे । अरु सबै एकातिर र बाँस्कोटा अर्कोतिरसम्म पनि भनेका थिए उनले ।
मूलधारका सम्पादकहरुमा सकारात्मक कुरा लेख्न सक्ने मुटु छैन भन्ने उनले प्रेससँग बिग्रिएको आफ्नो सम्बन्धलाई सुधार्न रात्री भोजको आयोजना गर्दै आफैंले बाँसुरी बजाएर माहोल केही हुलुका बनाउने प्रयास पनि गरेका थिए । तर, यी सबै प्रयासका बाबजुद यतिदेखि ओम्नीसमूहसम्मका काण्डहरु प्रेसले निरन्तर लेखिरहेपछि प्रधानमन्त्री मूलधारको सञ्चारसँग टाढिएको भान हुन्छ ।
सिडिओ र डिएसपीले भन्दा पहिला पत्रकारले सूचना थाहा पाउनु हुन्न भन्ने उनको मान्यतालाई पत्रकार दाहाल अनुदार सोचको उपज ठन्छन् । ‘स्टालिनको साहित्य पढेर आएका कम्युनिष्ट नेतालाई आलोचक कोही हुनै हुन्न भन्ने भ्रम छ,’ उनी भन्छन्, ‘यसै हुनाले उनले अरिंगालहरु पालेका छन् ताकि आलोचकहरुमाथि जाइलाग्न सकियोस् ।’
हरेक शासकलाई आफ्ना शुभचिन्तकले झैं प्रेसले पनि गुणगान गाइदिओस् र आफ्ना राम्रा कामहरुका बारेमा लेखिदेओस् भन्ने चाहना हुन्छ । तर, मिडियाको धर्म नै हो, जहाँ बेथिति छ त्यहाँ नजर दौडाउनु ।
‘सरकारको गुणगान आएर मिडियाले आफ्नो धर्म निर्वाह गर्न पनि सक्दैन,’ मानवअधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा भन्छन्, ‘सरकारले पूरा नगरेका वाचा, हुन नसकेको पारदर्शीता र सुशासन अनि नागरिकको अधिकारहरुको हननका सवालमा समाचारहरु लेख्दा सरकार यहाँ मात्रै होइन, अन्यत्र पनि खुसी हुँदैन, भएको छैन ।